बेलौरी एक्सप्रेस

बेलौरी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लक्ष्मी माविलाई

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
978 Views

ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरको बेलौरी नगरपालिकाले आयोजना भएको चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लक्ष्मी माध्यमिक विद्यालय जबदियाले चुमेको छ । सोमबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कांस्य प्राप्त गर्दै लक्ष्मी माध्यमिक विद्यालय जबदिया प्रथम, १० स्वर्ण ८ रजत र ६ कांस्य पदक सहित शान्ति माध्यमिक विद्यालय शान्तिपुर द्वितीय तथा ७ स्वर्ण, १० रजत र ५ कांस्य पदक सहित महाकाली माध्यमिक विद्यालय विद्यानगर तृतीय भएको बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभएको छ ।

लौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा भएको चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले खेलकुद लगायत समग्र क्षेत्रको विकासका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको समापनका क्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नगर खेलकुद समितिलाई सौहार्द वातावरणमा प्रतियोगिता सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै पदक विजेता र सहभागी सबैलाई आगामी खेल यात्राको शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, नगर प्रवक्ता हर्कबहादुर भुल सहितका जनप्रतिनिधिहरू, जिल्ला खेलकुद समितिका कोषाध्यक्ष सुरेन्द्र शाही, खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरू, खेल प्रेमी, विद्यालयहरूका शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको समेत उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलौरीका सामुदायिक तथा संस्थागत गरी २६ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्